नेमुवाबाट बुढी खोला तरेर उकालो लागेपछि बाटैभरी पेट्रोल पाइन्छ। बोतलमा पाइते त्यस्तो पेट्रोल कति शुद्ध वा अशुद्ध कसैलाई मतलब छैन। त्यो तेल एक सय पचासदेखि दुई सय रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको इटहरीबाट पश्चिमतिर लागेपछि पनि बाटैभरि पेट्रोल भेटिन्छ। विराटचोक दक्षिण हरैंचासम्म पनि बाटैभरी पेट्रोल पाइन्छ। झापा त पेट्रोलको सहर नै कहलिएको छ। काँकडभिट्टा ‘पेट्रोलखानी’ जतिकै भएको छ।
केही दिनअघि संवाददाता सुनसरीका विभिन्न देहात गाउँ घुम्दा बाटैभरी पेट्रोल देखिन्थ्यो। जर्किन, ड्रम र बोतलमा ठाउँ–ठाउँमा पेट्रोल कारोबार भइरहेको छ तर त्यो पेट्रोल कहाँबाट आउँछ र बिक्री हुन्छ भन्ने कुरासँग स्थानीय प्रशासनलाई मतलब छैन। छोटो समयमा धेरै कमाइ हुन थालेपछि कतिपय मान्छेले अहिले पेट्रोलियम र ग्यासको कारोबार थालेका छन्।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँगै जोडिएको एउटा घरमा भारतको अघोषित नाकाबन्दीपछि एउटा ग्यासको डिलर खुल्यो। बजारमा ग्यासको अभावसँगै सुरू भएको त्यो अबैध डिलर अहिले पनि बेरोकटोक चलिरहेको छ।
स्थानीयका अनुसार त्यहाँ एउटा सिडिन्डर पूरा भरेको ६ हजार ५ सय रुपैयाँसम्म पर्छ । सिलिन्डर पुर्याइदिएपछि डिलरवालाले जोगबनी पुर्याएर ग्यास भरी नेपाल ल्याउँछन्। दैनिक २५ वटासम्म ग्यास काठमाडौं जाने गरेको छ।
स्थानीयका अनुसार त्यो अबैध डिलर बन्द गर्न त्यहीँका स्थानीयले धेरैपटक प्रशासन र प्रहरीलाई खबर गरे । ‘एक दुई पटक प्रहरी आयो, हेर्यो अनि त्यतिकै फर्कियो,’ कालोबजारीको यो दृश्य दिनैपिच्छे देखिरहेकी एक जना महिलाले भनिन्, ‘जहाँ, जसले, जसरी ग्यास र पेट्रोलको कारोबार गरे नि मतलब छैन सरकारलाई ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार किसानलाई सिमावर्ती क्षेत्रबाट पेट्रोल ल्याउन रोक लगाइएको छैन्। तर ती किसानका नाममा सिमाबाट पेट्रोल कारोबार भइरहेको छ। ‘किसानलाई पेट्रोल डिजेल ल्याउन कडाइ गरेका छैनौं,’ पन्थले भने, ‘बजारतिर अबैध कारोबार भएको सूचना छैन, पम्पतिर गएर कहिलेकाहीँ अनुगमन गर्ने गरेका छौं।’ उनका अनुसार बजारतिर कैफियत भेटिएको छैन।
काँकडभिट्टाबाट भारतबाट दैनिक एक लाख लिटरसम्म तेल आउँछ । त्यो सबै काठमाडौं, पोखरा जान्छ। ‘काँकडभिट्टाका हरेक घर पेट्रोल पम्पजस्ता छन्,’ स्थानीय पर्वत पोर्तेल भन्छन्, ‘यहाँ जताततै तेलैतेल, यो पेट्रोलको सहर भएको छ।’
काँकडभिट्टामा पहिले–पहिले सुपारीको वारिपारि कारोबार गर्ने ‘झोलेपोके’ अहिले पेट्रोल व्यवसायी भएका छन्। भारतपट्टिका बङ्गालीहरू नेपालमा धेरै पेट्रोल कारोबारमा संलग्न छन्।
काँकडभिट्टास्थित प्यारीभिट्टा तेल कारोबारको ‘लोकल बजार’ हो। खासमा नेपाल आयल निगमले मात्र पेट्रोलियमको कारोबार गर्न पाउनुपर्ने कानुनी व्यवस्थाविपरीत अहिले स्थानीय प्रशासनले मनपरी कारोबार गराइरहेको छ। काँकडभिट्टाका डिएसपी श्यामकृष्ण अधिकारीले भने, ‘पेट्रोलको जथाभावी कारोबार भयो भनेर हामीले प्यारीभिट्टा एरिया तोकिदिएका हौं।’
केही दिनअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवाददातासित भनेका थिए, ‘अहिले नेपालमा नाकाबन्दी नखुलोस् भन्ने एउटा ठूलो समूह नै छ ।’ कोइरालाका अनुसार त्यो कालोबजारी गर्ने समूह हो, जसले अकुत आर्जन गरिरहेको छ र त्यसमा ठूला–ठूला मान्छेहरू सक्रिय छन् । उनीहरू भरसक नेपालमा नाकाबन्दी नहटोस् भन्ने पक्षमा छन्।
गृहका एक उच्च अधिकारीका अनुसार अहिले पेट्रोलियम र ग्यासको अबैध कारोबारमा ‘आँखा चिम्लिन’ गृहबाटै आदेश आएको छ। ‘अहिले अभाव छ, पेट्रोलियम र ग्यासको कारोबारमा कडाइ नगर्नू भन्ने मौखिक आदेश छ,’ गृहका ती अधिकारीले सेतोपाटीसँग भने, ‘अहिले कालोबजारी नियन्त्रणको कुरा नगर्नुस् ।’
उनको कुरालाई काँकडभिट्टाका डिएसपी अधिकारीले पुष्टि गर्दिएका छन्। अधिकारीले त खुलेरै ‘माथिबाट आँखा चिम्लिदिने’ आदेश आएको बताए। ‘एकैदिनमा नियन्त्रण गर्न सकिन्छ तर हामीलाई माथिबाट पेट्रोलियममा आँखा चिम्लिने आदेश छ,’ अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले व्यवहारिक कुरा हेर्दिएका मात्र हौं।’
गत मंसिर १३ गते सुनसरी पकलीस्थित सशस्त्र प्रहरीको क्षेत्रीय कार्यालयमा गृहमन्त्री शक्ति बस्नेतको उपस्थितिमा सुरक्षा बैठक सम्पन्न भएको थियो । झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका सुरक्षा प्रमुखहरू सम्मिलित बैठकमा गृहमन्त्री बस्नेतले पेट्रोलियम र ग्यासमा कडाइ नगर्न आग्रह नै गरेका थिए । ‘ग्यास र इन्धनमा कडाइ नगर्नु भन्ने कुरा गृहमन्त्रीले भन्नुभएको हो,’ ती सुरक्षा अधिकारीले भने, ‘मुलुकको आवश्यकता इन्धन र ग्यास हो भन्ने कुरा आएको छ ।’
यसरी जथाभावी पेट्रोल र ग्यासको कारोबार गर्नु आफैंमा असुरक्षित पनि छ । आयल नियम अधिकारीका अनुसार घरमा, बाटोमा जथाभावी पेट्रोलियम ग्यास कारोबार गर्दा आगलागी हुने, पड्किने सम्भावना हुन्छ । ‘बजारमा बिक्री भइरहेको इन्धन नियन्त्रण गर्ने हाम्रो क्षेत्रभित्र पर्दैन, यो प्रशासनको काम हो, हामीले पम्पमात्र हेर्छौं,’ नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख खिलेन्द्र कार्कीले भने।
No comments:
Post a Comment