१५ भदौ, वीरगञ्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको वीरगञ्ज बन्दमा हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरी चौकीमा पेट्रोल र सुतली बम हानेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज सोमबारबाटै तनावग्रस्त थियो । स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै प्रदर्शनमा उत्रिएका बन्दकर्ताले श्रीपुर र नगवा प्रहरी चौकीमा आक्रमण गरेपछि सुरक्षाकर्मीर्ले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।
आन्दोलनकारीले प्रहरी चौकी श्रीपुरमा पेट्रोल बम र सुतली बम समेत हानेको प्रहरीले बताएको छ । ‘श्रीपुरमा प्रहरीमाथि हाते बम फालिएको छ’ पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीने भने, ‘घरेलु हतियारसहित आक्रमणमा उत्रिएका छन् ।’
श्रीपुर झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर पर्सा मनरियाका धर्मराज सिंहको मृत्यु भएको छ ।
नगवा प्रहरी चौकी नजिक भएको झडपमा दिनानाथ साह, सोहन साह कलवार र भोला साह कानुको मृत्यु भएको छ । उनीहरुलाई प्रहरीले चलाएको गोली लागेको थियो ।
झडपमा घाइते भएका प्रज्वल तिवारी र अमेरीलाल पाल गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
सोमबार पनि वीरगञ्जमा प्रहरीको गोली लागेर दिलिप सिंह चौरसियाको मृत्यु भएको थियो ।
No comments:
Post a Comment